सार्वजनिक बिदा पुनरावलोकन गर्न गृह सह-सचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने सरकारकाे निर्णय

20 Shares

काठमाडाैं । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा साेमबार बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्यसचिव कार्कीले हस्ताक्षर गर्नुभएको २२ बुँदे निर्णयमा उल्लेख गरिएकाे छ।बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको हाे।

त्यस्तै, बैठकले दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार सङ्घीय, प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ । नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो । सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढाउने निर्णय पनि गरेका छन् ।

बैठकले जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि गरेको हाे । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक साेमबार सचिवहरूको बैठक बसेको थियाे।