यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

14 Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

बैठकले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन वार्ता टोली बनाउने, रु १ र रु २ का नयाँ डिजाइनका सिक्का टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्नेलगायतका निर्णय गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरू:

१. अनुचित लेनदेन(मिटरब्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय , वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिवहरू सदस्य रहने ।

२. रु १ र रु २ का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने ।

३. नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना गर्नका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने ।

४. संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा, प्रचलित कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने ।

५. विभिन्न मन्त्रालयहरूको सङ्गठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने

६. नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३ स्वीकृत गर्ने

७. सेवा करारमा कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने ।