काठमाडौं । आत्मदाहको प्रयास पछि निधन भएका मुगुका गणेश नेपालीको अन्तिम दाहसंस्कार सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने भएको छ ।
परिवारिक स्रोतका अनुसार श्रद्धाञ्जली पछि धार्मिक परम्पराअनुसार उनको आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको हो । गणेश नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएपछि परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा छन् ।
उनको निधनपछि घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग गर्दै प्रदर्शनसमेत भएका छन् । आज सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भए पछि परिवार भोलि उनको दाहसंस्कार गर्न सहमत भएको हो ।
सहमतिअनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतका अभ्यास तथा छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, घटना भएको दिन घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने, मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको व्यवस्था मिलाउनेलगायतका विषयमा ९ बुँदे सहमति भएको हो ।
परिवारले अन्तिम श्रद्धाञ्जलीका लागि इच्छुक सबैलाई निर्धारित समयमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया