श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

91 Shares

काठमाडाैं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले चिनिने रेस्लर कुमार थापालाई श्रीमतीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा प्रहरीले ४२ वर्षकै थापालाई शुक्रबार मध्यराति नियन्त्रणमा लिएको हो।

शुक्रबार राति करिब १० बजेतिर घरायसी विवादका क्रममा थापाले श्रीमती ईश्वरीलाई फलामको रडले हानेकाे प्रहरीले जानकारी दिएकाे छ ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति ११:३० बजे मृत घोषणा गरेको छ ।

त्यसलगत्तै थापालाई प्रहरीले बालाजुबाट पक्राउ गरेकाे छ । अहिले ईश्वरीको शव शिक्षण अस्पतालमै पोस्टमार्टमको प्रक्रियामा रहेको जनाएकाे छ । रेस्लर थापाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जानकारी दिए ।