काठमाडाैं । साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बंगलादेशसँग सामना गर्ने भएको छ ।
भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आइतबार भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनलकाे समीकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेपालले बंगलादेशसँग र भारतले भूटानसँग खेल्ने भएका छन् ।
नेपाल समूह ‘ए’ को विजेता र बंगगलादेश समूह ‘बी’ को उपविजेता बनेकाे हाे । समूह ‘ए’बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।
समूह ‘बी’बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन् । सेमीफाइनलका खेलहरु यहि जेठ २० गते हुने भएका छन् । आठौं संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल यहि जेठ २३ गते हुने भएकाे हाे । भारतले सबै भन्दा बढी ५ पटक उपाधि जितेको छ । बंगलादेश भने पछिल्लो दुई संस्करणको विजेता हो ।
पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । सन् २०२२ र २०२४ मा काठमाडाैंमा भएकाे साफ महिला च्याम्पियनशिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।
नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन रहेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया