प्रधानमन्त्री बालेनलाई पदमा बस्ने नैतिक अधिकार छैन: भीम रावल

17 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै आलोचना गरेका हुन् ।

उनका अनुसार देशको भौगोलिक अखण्डता र सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने किसिमको अभिव्यक्ति दिनु गम्भीर विषय भएको बताए ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको उल्लेख गरेको दाबी गर्दै रावलले त्यसलाई झुटा र आपत्तिजनक अभिव्यक्ति भनेका छन्।

रावलले फेसबुकमा लेखेका छन्, “नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू-भाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।”रावलले प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्नेबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन् । त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसदहरूको आधिकारिक धारणा समेत सार्वजनिक गर्नुपर्ने बताएका छन् ।