अन्धविश्वास र उत्पीडनको कथा बोकेको नाटक ‘अछेता’

19 Shares

काठमाडौं । कर्णालीको माटो, वेदना र यथार्थलाई रङ्गमञ्चमा उतारिएको नाटक ‘अछेता’ यही जेठ १ गते शुक्रबार देखि बत्तिसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।

कला घरको प्रस्तुतिमा लेखक तथा निर्देशक गोविन्द सुनारले तयार पारेको यो नाटकले जात व्यवस्था, धार्मिक उत्पीडन, अन्धविश्वास र राज्यको बेवास्ताबीच बाँचिरहेका मानिसहरूको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

नाटकको केन्द्रमा छन् दल कामी, एक दलित शिल्पकार तथा धामी, जसले आफ्नै हातले देवताको मूर्ति बनाउँछ, तर त्यही मन्दिरभित्र प्रवेश गर्न पाउँदैनन् ।

कला र देवत्व खोज्दै जीवन बिताइरहेका दलको संसार तब झन् बिथोलिन्छ, जब उसका नवजात शिशु गम्भीर बिरामी पर्छ । गाउँमा न उपचारको व्यवस्था छ, न राज्यको साथ ।

त्यसपछि दल र उसकी पत्नी गीता विश्वास, धर्म र समाजबीच उत्तर खोज्दै भौँतारिन्छन् । अन्ततः उनीहरूको भरोसा त्यही ढोकामा पुगेर टुट्छ, जहाँ दलले आफ्नै हातले बनाएको देवताको अगाडि उभिनसमेत पाउँदैनन् ।

‘अछेता’ केवल एउटा परिवारको कथा होइन, बहिष्कार, विभेद र असमानताको भार बोकेर बाँचिरहेका समुदायहरूको सामूहिक आवाजको नाटक हो ।

यसअघि यो नाटक ‘त्रिदेशीय नाटक महोत्सव’ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कान्तिपुर थिएटरमा मञ्चन भएको थियो ।

जेठ २५ गतेसम्म मञ्चन हुने यो नाटकमा कलाकारहरू झकेन बी.सी., सुस्मिता कुँवर, सुवास खत्री, केशव रोकाया, दिपेश खत्री, दानराज न्यौपाने, जुनमाया परियार, गोमा खत्री, आरती बुढा, अप्सरा के.सी., जमुना शाही, कल्पना मल्ल र शिवानी परियार रहेका छन् ।

यो नाटक मंगलबार बाहेक हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।