विपद् व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न कांग्रेसको माग

9 Shares

काठमाडौं । नेपाली कांग्रेसले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।

आङ्देम्बेले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको बताए ।

उनका अनुसार राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन संसदीय निगरानी आवश्यक छ ।

‘अहिलेसम्म गठन हुन सकेको छैन । चाँडोभन्दा चाँडो संसदीय उच्चस्तरीय समिति गठन गरेर अहिलेको राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका विषयलाई प्रभावकारी रूपमा हेर्न आवश्यक छ,’ आङ्देम्बेले भने ।

उनले विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्नुपर्ने बताए ।

पीडितलाई सुरक्षित स्थानमा नयाँ बस्तीमा पुनःस्थापना गर्ने विषयमा समेत जिम्मेवार र पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ छ ।

आङ्देम्बेले संसदीय उच्चस्तरीय समिति गठन गर्नु सरकारको विरोध नभएको स्पष्ट पारे । सरकारका कामलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उनले बताए ।

‘सरकारले संसदीय उच्चस्तरीय समिति गठन गर्नु भनेको सरकारको विरुद्धमा बोल्नु वा सरकारविरुद्ध समिति गठन गर्नु होइन । यो सरकारकै कामलाई थप व्यवस्थित र सरकारलाई थप जिम्मेवार बनाउनका लागि हो,’ उनले भने ।

राज्यका सबै निकाय र राजनीतिक दलबीच समन्वय गर्दै विपद् प्रभावित क्षेत्रमा राज्यको उपस्थिति र सहयोग सुनिश्चित गर्न समिति आवश्यक रहेको आङ्देम्बेको भनाइ छ ।

यसैगरी, आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

संसद्को नियमावली र कार्यतालिकाअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले यसको सञ्चालन आवश्यक रहेको उनले बताए ।

सभामुख अर्याल यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिएको आङ्देम्बेले बताए ।

भेटका क्रममा आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे समेत सभामुखलाई जानकारी गराएका थिए । उनका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते तथा केन्द्रीय महाधिवेशन १६ देखि १९ गतेसम्म हुनेछ ।