काठमाडौं । धनुषा जिल्लाको जनकपुरधाममा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । मिथिला होस्पिटालिटी प्रालिको लगानीमा बन्न लागेको यो होटल जनकपुरधामकै पहिलो पाँचतारे होटल हुने जनाइएको छ ।
सोमबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र प्रतिनिधिसभा सदस्य मनिष झाले संयुक्त रूपमा होटल निर्माणको शिलान्यास गरेका हुन् ।
मिथिला होस्पिटालिटीका अध्यक्ष रामेश्वर साहका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–१ मा सवा दुई बिघा क्षेत्रफलमा होटल निर्माण गरिनेछ । भाटभटेनी सुपरमार्केट नजिकै बन्ने उक्त होटलमा १२४ वटा सुविधासम्पन्न कोठा रहनेछन् । निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा अध्यक्ष साहले जनकपुरधामलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लगानी गरिएको बताए । यसअघि माघ ५ गते बालेन्द्र शाह (बालेन) ले जनकपुर भ्रमणका क्रममा शहरलाई पर्यटकीय हब तथा वैवाहिक गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । उक्त योजनालाई पनि यस परियोजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी सांसद झाले लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेस प्रदेशमा लगानीमैत्री वातावरण सुदृढ भएको दाबी गरे । उनले अब कसैले पनि लगानीमा अवरोध सिर्जना गर्न नसक्ने र लगानीकर्तालाई दुःख नदिइने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया