‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

106 Shares

काँक्रेविहार । नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको आज उद्धार गरिएको छ ।

डोलेबुद्ध गाउँपालिकाको ‘धो’बाट बिरामी गणक कमल डाँगी, टोली प्रमुख किरण मल्ल, गणक लक्ष्मीकुमारी ज्ञवाली, गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिए ।

उनले भने “डाँगी लेक लागेर बिरामी हुनुभयो । हिमपातका कारण शेफोक्सुण्डो जान सक्ने अवस्था नहुँदा अन्यको पनि हेलिकोप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शेफोक्सुण्डो गाउँपालिका–२ मा खटिएका गणनास्थल जानु अगाडि बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।

बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका–२ का हुन् ।