कांग्रेस वडा अधिवेशन असोज ३ गते नै हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा

8 Shares

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गते हुने वडा अधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुने स्पष्ट पारेका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले सामाजिक सञ्जालमा अधिवेशन सर्ने भन्दै भइरहेका प्रचारमा कुनै सत्यता नभएको बताए ।

उनले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशन निर्धारित मितिमै अघि बढ्ने दाबी गरे । उनका अनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ भने उनीहरू सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिरहेका छन् ।

प्रत्येक वडामा मतदान अधिकृतसमेत खटाइसकिएको उनले जानकारी दिए । काँग्रेसको अधिवेशनलाई पार्टीको आन्तरिक निर्वाचनका रूपमा मात्रै नभई संवैधानिक सर्वोच्चता र विधिको शासनसँग समेत जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।

खड्काले सर्वोच्च अदालतको फैसलाविपरीत काँग्रेस अघि नबढ्ने भन्दै अधिवेशन नरोकिने स्पष्ट पारे ।

उनले भने, ‘आगामी ३ गते हुने वडा अधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै अघि बढ्छ, यो स्थगित हुँदैन । यसको मुख्य आधार संवैधानिक सर्वोच्चता र विधिको शासन हो । पार्टीको संवैधानिक व्यवस्थाअनुसार चार वर्षे कार्यकाल पूरा हुने अवस्थामा पाँच वर्षभन्दा पर अधिवेशनलाई लैजान मिल्दैन ।’

उनका अनुसार सर्वोच्च अदालतले सम्बन्धित रिट खारेज गर्दा निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भइसकेको अवस्थालाई समेत फैसलाको आधार बनाएको छ ।

‘नेपाली काँग्रेस संविधान, विधिको शासन र सर्वोच्च अदालतको फैसलाप्रति प्रतिबद्ध भएकाले अदालतको निर्णयविपरीत जाने प्रश्न उठ्दैन । त्यसैले निर्धारित कार्यतालिकाअनुसार ३ गतेको वडा अधिवेशन सम्पन्न हुन्छ,’ खड्काले भने ।

बाढी तथा विपद्बाट प्रभावित केही जिल्लामा अधिवेशन प्रभावित हुने अवस्था रहे पनि स्थलगत जानकारी तथा निर्वाचन अधिकृतहरूको रिपोर्टका आधारमा अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पुगेको निर्वाचन समितिले जनाएको छ ।

विशेषगरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या रहेको खड्काले बताए । प्रभावित क्षेत्रबारे स्थलगत अध्ययन तथा सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको उनले जानकारी दिए ।

धादिङको एक क्षेत्रमा एउटै परिवारका ठूलो संख्यामा सदस्यको मृत्यु भएको जानकारी आएको भए पनि अन्य क्षेत्रमा अधिवेशन सञ्चालन गर्न सकिने रिपोर्ट प्राप्त भएको उनको भनाइ छ ।

निर्वाचन व्यवस्थापनमा संघीयताको अभ्याससमेत गरिएको उनले बताए । सातै प्रदेशमा कमान्डर तोकिएको र उनीहरूकै सिफारिसका आधारमा ७७ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरिएको खड्काले जानकारी दिए । जिल्लामा समेत स्थानीय तहअनुसार निर्वाचन व्यवस्थापनको जिम्मेवारी दिइएको उनले बताए ।

जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी यसअघि नै कार्यतालिका तय गरिएको उनले स्पष्ट पारे । वडा, क्षेत्र र प्रदेश तहबाट महाधिवेशनका लागि आवश्यक मतदाता तयार भएपछि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

निर्वाचन समितिका संयोजक खड्काले सञ्चारमाध्यममार्फत अधिवेशन सर्ने विषयमा फैलिएका भ्रम चिर्न आग्रहसमेत गरे ।

काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचनका लागि करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा खटिइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका सदस्यसचिव राजु कटुवालले ३ र ४ गते हुने वडा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको दाबी गरे ।

उनका अनुसार ७७ जिल्लामा ७७ जना, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १६५ जना, ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३० जना, ७५३ पालिकामा ७५३ जना र ६ हजार ७४३ वडामा ६ हजार ७४३ जना निर्वाचन अधिकृत खटाइएको छ ।

उनीहरूलाई सहयोग गर्न सोही अनुपातमा मतदान अधिकृतसमेत परिचालन हुनेछन् ।

कटुवालका अनुसार १५औँ महाधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिसहित करिब साढे ३ लाख प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान छ । हालको अनुमानअनुसार वडा तहबाट मात्रै करिब २ लाख ९६ हजार ६९२ जना प्रतिनिधि तथा पदाधिकारी चयन हुनेछन् ।

महाधिवेशन प्रतिनिधिको संख्या पनि करिब ७ हजारको हाराहारीमा पुग्ने अनुमान रहेको उनले बताए ।

उनका अनुसार १५० क्रियाशील सदस्यको सिलिङका आधारमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रका पदेन प्रतिनिधि ३३० जना र पालिका सभापतिबाट ७५३ जना महाधिवेशन प्रतिनिधि आउने प्रारम्भिक हिसाब छ ।

विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने कटुवालले बताए ।

निर्वाचन समितिले करिब ८ लाख ७० हजार क्रियाशील सदस्यको डिजिटल विवरण प्राप्त गरिसकेको जनाएको छ । रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाको विवरण अन्तिम रूप दिन बाँकी रहेकाले ती जिल्लाको विवरण पछि थपिने कटुवालले बताए ।

निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली पीडीएफ फाइलमा तयार गरी सम्बन्धित जिल्लामा पठाउने तयारी गरिरहेको छ । उनका अनुसार तीन जिल्लाबाहेक ७४ जिल्लामा नामावली पठाउने काम अघि बढेको छ ।

कटुवालले यसपटकको महाधिवेशनलाई केही हदसम्म डिजिटल बनाउने योजना रहेको पनि बताए । निर्वाचन निर्देशिकाको ‘अनुसूची २५’ मार्फत वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिको संख्या र विभिन्न समुदायको प्रतिनिधित्वसम्बन्धी व्यवस्था सहज रूपमा बुझ्न सकिने गरी तालिका राखिएको उनको भनाइ छ ।

महाधिवेशनलाई महिलामैत्री बनाउने उद्देश्यले निर्वाचन अधिकृतको भूमिकामा महिला कानून व्यवसायीको सहभागिता बढाइएको समितिले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १८ जना महिला कानून व्यवसायी निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।

यस्तै अर्घाखाँचीमा अञ्जु रेग्मी निर्वाचन अधिकृतका रूपमा खटिएकी छन् । यससँगै १९ जना महिला कानून व्यवसायी प्रत्यक्ष रूपमा निर्वाचन अधिकृतको भूमिकामा सक्रिय रहेको कटुवालले जानकारी दिए ।

उनले ३ र ४ गतेको वडा तहको निर्वाचन निर्धारित समयमै हुने दाबी गर्दै महाधिवेशन सर्ने विषयमा कुनै दुविधा नरहेको बताए ।