मतदाता नामावली संकलन आजदेखि पुनः सुरु

129 Shares

काठमाडौं : मतदाता नामावली संकलन आजदेखि पुनः सुरु प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु हुने भएको छ। निर्वाचन आयोग ले यसअघि मङ्सिर ६ गतेदेखि उक्त प्रक्रिया स्थगित गरेको थियो।

आयोगको चैत १८ गतेको निर्णयअनुसार अब पुनः नाम दर्ता प्रक्रिया सञ्चालनमा ल्याइएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकहरूले अनलाइन प्रणालीमार्फत सजिलै नाम दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र नभएकाहरूले ‘प्रि-इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरेपछि फोटो र औँठाछापसहितको विवरण दिन सम्बन्धित निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै, मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने जस्ता कार्यहरू पनि अनलाइनबाटै गर्न सकिनेछ।

नाम, ठेगाना, नागरिकताअनुसारको विवरण सच्याउने तथा पायक पर्ने मतदान केन्द्रमा नाम सार्ने सुविधा समेत उपलब्ध गराइएको छ। आयोगले सबै नागरिकलाई मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।