काठमाडौं । नेकपा (एमाले) समर्थक जेन–जी अमिशा पराजुली ले सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि गालीगलौज तथा बलात्कारको धम्की आएको भन्दै उहाँले उजुरी दिनुभएको हो।
उहाँका अनुसार आफ्नो भिडियो दुरुपयोग गर्ने, सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने तथा धम्की दिने सबैविरुद्ध एकमुष्ट रूपमा उजुरी दर्ता गरिएको छ। पराजुलीले आफूले कुनै गलत अभिव्यक्ति नदिएको दाबी गर्दै पनि अनावश्यक रूपमा लक्षित गरिएको आरोप लगाउनुभएको छ।
पराजुलीले भन्नुभयो, “मैले बोलेको भिडियोको दुरुपयोग गर्ने तथा कमेन्टमा गालीगलौज र बलात्कारको धम्की दिने सबैविरुद्ध उजुरी हालेका छौँ। यस अवस्थामा मेरो परिवारले मलाई पूर्ण साथ दिएको छ।”
उहाँले अध्यक्ष ओलीको पक्राउलाई असंवैधानिक भएको भन्दै अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उहाँमाथि साइबर बुलिङ बढेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया