आगामी बजेटका लागि मार्गदर्शन तयार: मितव्ययिता र आर्थिक अनुशासनमा जोड

145 Shares

काठमाडौं । अर्थ मन्त्रालय ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट मार्गदर्शन तयार पारेर सबै मन्त्रालयलाई पठाएको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले मार्गदर्शन तयार गरिएको हो। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय ले बजेटको प्राथमिकता निर्धारण गर्दै मार्गदर्शन पठाइसकिएको जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययितालाई उच्च प्राथमिकता दिइनेछ। मन्त्रालयहरूलाई बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका, तत्काल ठेक्का प्रक्रियामा जान सकिने र ‘प्रोजेक्ट बैंक’मा सूचीकृत आयोजनाहरू मात्रै समावेश गर्न निर्देशन दिइएको छ।

त्यस्तै, राष्ट्रिय योजना आयोग का उपाध्यक्षको नेतृत्वमा रहेको स्रोत अनुमान समितिले बजेटको सिलिङसमेत पठाइसकेको छ। राजश्व संकलन र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गरिएको जनाइएको छ।

गत वर्षको तुलनामा यस वर्ष बजेट सिलिङ केही कम प्रस्ताव गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ। साथै नयाँ सरकारका प्राथमिकता र नीतिहरूलाई पनि आगामी बजेटले समेट्ने तयारी गरिएको छ