काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अच्युतम लामिछाने ले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटमा उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रस्ताव अघि सारे। उनले खेलकुदलाई केवल मनोरञ्जनको रूपमा नभई वैज्ञानिक ढंगले विकास गर्नुपर्नेमा जोड दिए।
सांसद लामिछानेले खेलकुदलाई शिक्षाभन्दा अघि प्राथमिकता दिनुपर्ने धारणा राख्दै जन्मदेखि नै मानिस खेलकुदसँग जोडिने भएकाले यसको महत्व उच्च रहेको बताए। उनले खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन प्रधानमन्त्री र पार्टी सभापतिसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
दक्षिण कोरियाको अनुभव उल्लेख गर्दै उनले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। विशेषगरी नेपाल खेल विज्ञान प्रतिष्ठान लाई अझ अनुसन्धानमुखी र वैज्ञानिक बनाइनुपर्ने उनले बताए।
खेलाडीहरूको प्रदर्शनमा राज्यले कुनै कमी नराख्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयसँग सहकार्य गरेर खेलकुद क्षेत्रको स्तर उकास्न निरन्तर लाग्ने विश्वास व्यक्त गरे। साथै, खेलकुद क्षेत्र ओझेलमा पर्ने खतरा औंल्याउँदै सबै खेलकर्मीहरूलाई एकजुट हुन पनि आह्वान गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया