श्रम स्वीकृतिमा सुधार: टोकन प्रणाली हटाइयो, आवेदनकै दिन स्वीकृति दिने निर्णय

129 Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रिया सहज बनाउँदै टोकन प्रणालीको अन्त्य गरेको छ। अब आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार यसअघि टोकन लिएर तोकिएको मितिमा मात्रै स्वीकृति दिने व्यवस्था हटाइएको हो। आइतबार मन्त्री दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पनि डिजिटल बनाउने तयारी गरेको छ। पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री निर्माण गरी अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ भने अभिमुखीकरण तालिम पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने जनाइएको छ।

त्यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने अभियान सञ्चालन गरिनेछ भने न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयनमा जोड दिइनेछ। श्रमाधान योजना प्रभावकारी बनाउँदै कल सेन्टरलाई थप व्यवस्थित गरिने, औद्योगिक प्रतिष्ठानमा जोखिम मूल्याङ्कन गरी स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ।

सरकारले आन्तरिक रोजगारी सिर्जनामा जोड दिँदै उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्ने तथा थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने योजना अघि सारेको छ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, कार्य वातावरण, स्वास्थ्य अवस्था तथा न्यूनतम ज्यालाको सुनिश्चितता सम्बन्धी अध्ययन गरी न्यूनतम मापदण्ड तयार गर्ने विषयमा पनि छलफल भएको छ। साथै, सीप विकास तालिममार्फत रोजगारीमा आबद्ध गराउने, सबै प्रदेशमा सीप मेला सञ्चालन गर्ने र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना मन्त्रालयले अघि बढाएको छ।