काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत मुम्बई इन्डियन्स ले विजयी सुरुवात गरेको छ। आइतबार राति वानखेडे मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्स लाई ६ विकेटले पराजित गरेको हो।
कोलकाताले दिएको २ सय २१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका रायन रिकेल्टन ले ८१ रन र रोहित शर्मा ले ७८ रन बनाउँदै टोलीलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो। उसका अजिंक्य रहाणे ले सर्वाधिक ६७ रन बनाए भने अंगकृष रघुवंशी ले ५१ रनको योगदान दिएका थिए। मुम्बईका शार्दुल ठाकुर ले ३ विकेट लिए।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर ले हैदरावादलाई हराउँदै विजयी सुरुवात गरेको थियो। आईपीएलअन्तर्गत सोमबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स बीच प्रतिस्पर्धा हुने छ, जुन खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुहावाटीमा सुरु हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया