काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइतबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
यसअघि २०८१ जेठमा काठमाडौं महानगरपालिका ले शर्माको घरबाट एक नाबालिकाको उद्धार गरेको थियो। दाङकी ती बालिकालाई घरेलु कामदारका रूपमा राखी कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको थियो। घटनापछि तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ले सार्वजनिक रूपमा विषय उठाउँदै प्रश्न गरेका थिए।
शर्मामाथि नाबालिकालाई बाहिर निस्किन नदिएको, कुटपिट गरेको र बसोबासको उचित व्यवस्था नगरेको लगायतका आरोप रहेका छन्। उक्त घटनामा महानगरपालिकाले जिल्ला प्रहरी परिसरमा बालबालिका सम्बन्धी ऐनअन्तर्गत कसुर भएको भन्दै जाहेरी दिएको थियो।
जाहेरी दिएको लामो समयसम्म पनि पक्राउ नगरेको भन्दै प्रधानमन्त्री शाहले त्यतिबेला सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए। यद्यपि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भएको थियो। त्यसपछि पनि शाहले “समय आउने” बताएका थिए। अहिले भने सोही प्रकरणमा पुनः अनुसन्धान अघि बढाउँदै शर्मा पक्राउ परेकी हुन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया