प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग लिए छुट्टाछुट्टै ब्रिफिङ, फटाफट काम गर्न निर्देशन

102 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार मन्त्रालयहरू सम्हालेका मन्त्रीहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको उक्त बैठकमा मन्त्रीहरूलाई काम गर्दा परेको अप्ठेरो वा चुनौतीहरू सिधै रिपोर्ट गर्न निर्देशन दिइएको थियो ।

‘प्रधानमन्त्रीले हामीलाई आज बोलाएर काम कस्तो भइरहेको छ भनेर सोध्नुभयो । केही अप्ठेरो परेको भए मलाई भन्नु । राम्रो काम गर्नु भन्नुभयो । सय दिनभित्र परिणाम देखिनुपर्ने भएकाले अलमल नगरी फटाफट काम गर्नुपर्छ भन्नुभयो’ एक मन्त्रीले भने ।

प्रधानमन्त्रीले सबै मन्त्रीलाई मन्त्रालयको अवस्था र कर्मचारी सहयोगबारे जानकारी लिन र जिम्मेवारीमा पाएको कामलाई प्राथमिकता दिँदै काम अघि बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले शपथ लिएका थिए र सोही दिन पदबहाली गरेका थिए । त्यही दिनको मन्त्रिपरिषद् बैठकले सयवटा शासकीय सुधारको कार्यसूची पारित गरेको थियो ।

प्रधानमन्त्रीको निर्देशनअनुसार कर्मचारी संयन्त्रबाट असहयोग नहोस् भनेर दैनिक ब्रिफिङ लिइने व्यवस्था गरिएको छ ।

आइतबार सबै मन्त्रीहरूले मन्त्रालय र कर्मचारीको अवस्था बुझिसकेका छन् र सोमबारदेखि मन्त्रालयगत काम अघि बढाउन सुरु गर्ने तयारी गरेका छन् ।