देउवाको निवास भत्काउन प्रशासनको रोक

129 Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा को बुढानीलकण्ठस्थित निजी निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ ।

जेनजी प्रदर्शनका क्रममा आगजनी भएको उक्त घर भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भत्काउने काम रोकिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार प्रहरीले काम रोक्दै त्यहाँ कार्यरत कामदारलाई हटाएको छ ।

गत भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर तथा नेपाली रुपैयाँ फेला परेको थियो । उक्त रकम त्यसबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले संकलन गरेर सुरक्षित राखेको जनाएको छ ।

यसैबीच, देउवा तथा उनकी पत्नी आरजु राणा देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको उच्च सरकारी स्रोतले जनाएको छ ।