काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को रिहाइको माग गर्दै आइतबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेपछि अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि बसेको एमाले सचिवालय बैठकले विरोध जनाउँदै रिहाइको मागसहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मिनबहादुर शाही ले काठमाडौंमा माइतीघर मण्डलामा भेला भएर नारा जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिनुभयो ।
यसैबीच, एमालेले अध्यक्ष ओलीको पक्राउको विषयमा आइतबार बिहान साढे १० बजे कानूनविदहरूसँग अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया