काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध शनिबार राजधानीमा भएको प्रदर्शन तनावपूर्ण बनेको छ ।
प्रदर्शनका क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच विभिन्न स्थानमा झडप हुँदा सात जना प्रदर्शनकारी पक्राउ परेका छन् भने एक जना घाइते भएका छन् ।
राजधानीका बबरमहल, नयाँ बानेश्वर र माइतीघर मण्डला क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि केही समय स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्नुका साथै ‘ओलीलाई निःशर्त रिहा गर’ भन्दै नाराबाजी गरेका थिए ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेपछि केही स्थानमा झडप भएको हो । स्थिति नियन्त्रणबाहिर जान नदिन प्रहरीले एक राउन्ड अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई का अनुसार बबरमहल क्षेत्रबाट सात जना कार्यकर्तालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झडपका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको भए पनि उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलन घोषणा गरेसँगै राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन जारी छन् । प्रहरीले स्थिति नियन्त्रणमा रहेको दाबी गरे पनि आन्दोलन थप सशक्त बन्ने संकेत देखिएकाले आगामी दिनमा तनाव बढ्न सक्ने आकलन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया