आठ महिनामा करिब ११ खर्बको व्यापार घाटा

124 Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्म नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा भएको छ।

पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले वृद्धि भएको छ।

छिमेकी भारतसँगको व्यापार घाटा सबैभन्दा बढी रहेको छ। यस अवधिमा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ, जसबाट ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा भएको छ। यस्तै, चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ घाटा रहेको छ।

अन्य धेरै व्यापार घाटा भएका मुलुकहरूमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्सइन्डोनेसिया रहेका छन्। भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराककेन्यासँग भने व्यापार नाफा रहेको छ।

विभागका अनुसार पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी देखिएको छ। यस अवधिमा ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।

निर्याततर्फ भने भटमासको तेल अग्रस्थानमा रहेको छ। पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ।