काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेविसंघलाई नेपालको इतिहासबाट अलग राख्दा इतिहास नै अधुरो हुने बताए । यसको योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उनको भनाइ थियो ।
उनले २०२७ सालमा पञ्चायती शासनविरुद्ध विद्यार्थीलाई संगठित गर्दै प्रजातान्त्रिक आन्दोलन सुदृढ बनाउन नेविसंघ स्थापना भएको स्मरण गरे । कतिपय अवस्थामा पार्टीभन्दा बढी त्याग र बलिदान नेविसंघले गरेको पनि उनले उल्लेख गरे ।
महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिहरूलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताए । बदलिँदो राजनीतिक परिवेश र नयाँ दलहरूको उदयसँगै नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको धारणा छ ।
उनले देशमा ४० वर्षमुनिका करिब १ करोड २० लाख युवाको जनमत रहेको उल्लेख गर्दै यस्तो जनमतलाई बेवास्ता गर्नु कुनै पनि राजनीतिक दलका लागि उचित नहुने बताए ।
त्यस्तै, नेपाल तरुण दल र नेपाल महिला संघ लगायत भ्रातृ संस्थाहरूका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको जानकारी दिए ।
आइतबार नेविसंघ आस्थावान कार्यकर्ताहरूले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले गणपूरक संख्या नपुगेको बैठकबाट गरिएका निर्णयलाई अवैधानिक ठहर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया