काठमाडौं — देशभर अहिले मौसममा व्यापक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, रातिको समयमा देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत अन्य प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्ले मेघगर्जन, चट्याङ, असिना र हावाहुरीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया