काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ। संघीय संसद सचिवालय ले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुनेछ। सहभागी हुन सांसदहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।
शपथ ग्रहणमा सहभागी हुँदा सांसदहरूले आवश्यक कागजात समेत ल्याउनुपर्नेछ। सूचनाअनुसार निर्वाचन आयोग ले दिएको निर्वाचित प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
सचिवालयले सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि अनुरोध गरेको छ।
यसैगरी, नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिनअघि सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया