टुँडिखेलमा विशेष समारोहसहित घोडेजात्रा पर्व मनाइयो

155 Shares

काठमडाैं । राजधानीमा आज घोडेजात्रा पर्व विशेष समारोहका बीच मनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमडाैंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो।

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिएको थियो।

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रासँग ऐतिहासिक र धार्मिक किवदन्ती जोडिएको छ। जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने गर्दथ्यो। स्थानीयवासीले त्यसलाई परास्त गरेपछि पनि यसको प्रेतात्माबाट बच्न हरेक वर्ष घोडेजात्रा गरी घोडाको टापले त्यसलाई दबाउने परम्परा रहिआएको छ।

यसै विश्वासका आधारमा आजको राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि रहेको छ, जसले वर्षभर बालबालिकालाई अनिष्ट नहुने विश्वास गरिन्छ।

घोडेजात्रा पर्वको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको थियो।