रवि लामिछानेको आह्वान: निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

153 Shares

काठमडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।

नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभयो। मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीको प्रमुख एजेण्डा बनाएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई विचलित नहुन आग्रह गरे।

देश निर्माणमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको बताउँदै उनले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गर्नुभयो। साथै, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको दाबी गर्नुभयो।

“तपाईंहरूले निर्धक्कसँग काम गर्नसक्ने वातावरण हामी बनाउँछौँ । तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ, निर्धक्क हुनुहोला । कुनै अमुक नेता वा पार्टीले होइन, देशको नीतिले तपाईंलाई संरक्षण गर्नेछ,” उनले भने।

लामिछानेले देशमा उद्योग–कलकारखाना सञ्चालन, रोजगारी सिर्जना र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।