प्रचण्डद्वारा प्रधानमन्त्री कार्कीको प्रशंसा: निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण योगदान

127 Shares

काठमडाैं । पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।

बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका थिए। भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले नेताहरूसँग भन्नुभएको छ, “तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो, वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट निकास दिन सहयोग गर्नुभयो। यसका लागि धेरै धन्यवाद।” नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भएकोमा बधाइ दिएका थिए।

संयोजक प्रचण्डले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। तपाईँले जुन साहस र मेहनतका साथ काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ। हामी सुरु दिनदेखि निर्वाचनको पक्षमा उभिएका हौँ।”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रधानमन्त्री कार्कीको चुनावी भूमिका स्मरण गर्दै, “प्रधानमन्त्रीमा सुशीला कार्की आउने खबर सुनेर हामीले राहत महसुस गर्यौं। तपाईँ आइदिनु भयो भने संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो। अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि उहाँको छवि, इमान र दृढताका कारण सफल भयो,” बताए।