सांसद प्रवेशसँगै जिम्मेवारी बढ्यो: भूमिका श्रेष्ठ

152 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी भूमिका श्रेष्ठले संसद्मा प्रवेशसँगै आफ्नो जिम्मेवारी थपिएको बताएकी छन्।

उनी नेपालको संसदीय इतिहासमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा संसद्मा पुग्ने पहिलो व्यक्ति हुन्।

ललितपुरमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले रास्वपाले समावेशी सिद्धान्त र सुशासनलाई उच्च प्राथमिकता दिएकाले आफूले यो पार्टी रोजेको बताइन्। उनले संविधानको धारा १२, १८ र ४२ मा आफ्नो समुदायका अधिकार उल्लेख भए पनि उचित संरचना नहुँदा कार्यान्वयनमा समस्या रहेको बताइन्।

“अब आवश्यक नियम–कानुन निर्माण गरी ती अधिकारलाई व्यवहारमा उतार्न म सक्रिय हुनेछु,” उनले भनिन्।

श्रेष्ठले आफ्नो एजेन्डा केवल आफ्नै समुदायमा सीमित नभई मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका सबै वर्गको आवाज उठाउनु रहेको स्पष्ट पारिन्।

आगामी पाँच वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता र वैवाहिक समानताका मुद्दामा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले आफू डेढ दशकदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेको उल्लेख गरिन्।

उनले पार्टीले मन्त्रालयको जिम्मेवारी दिएमा पनि पछि नहट्ने बताएकी छन्।