काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले दिएको ऐतिहासिक विश्वास जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उहाँले जनताले अत्यधिक भरोसा गरेर पार्टीलाई बलियो वैधता दिएको उल्लेख गर्नुभयो। रास्वपाप्रति जनतामा उच्च आशा रहेको भन्दै त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले जनतामा विकास निर्माण र सुशासनको ठूलो चाहना रहेको बताउँदै त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट जनादेश प्राप्त भएको बताउनुभयो। अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टीलाई नभएको उहाँले स्पष्ट पार्नुभयो।
डा. वाग्लेले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग वर्तमान उपलब्धिको तुलना गर्दै त्यसबेला बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाए पनि लोकप्रिय मत ३८ प्रतिशत मात्र रहेको स्मरण गर्नुभयो। हालको निर्वाचनमा रास्वपाले करिब दुईतिहाइ सिटसहित झण्डै ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै यसलाई अभूतपूर्व जनादेश भएको उहाँको भनाइ छ।
उहाँले विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउँदै २०४८ सालमा नेपाली कांग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको, २०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको स्मरण गर्नुभयो।
डा. वाग्लेले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन स्थायित्व, सुशासन र जिम्मेवार नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो।
उहाँले नवनिर्वाचित सांसदहरूलाई पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासोप्रति संवेदनशील हुन र नेपालको संविधानलाई गहिरो रूपमा अध्ययन गर्न सुझाव दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया