अर्को निर्वाचनमा रास्वपालाई मात्र मत आउने वातावरण बनाउनुपर्छ: डोलप्रसाद अर्याल

122 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ।

रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उहाँले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार आगामी निर्वाचनसम्म पुग्दा जनताले प्रतिपक्ष नै आवश्यक नठानेर रास्वपालाई मत दिने अवस्था सिर्जना गर्नुपर्छ।

उहाँले यस्तो लक्ष्य भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो।

उहाँले निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी रहेको उल्लेख गर्दै दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूत हुने वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो।

उपसभापति अर्यालले पार्टीका सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आग्रह गर्दै इतिहास लेख्ने अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभयो। साथै आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन पनि सुझाव दिनुभयो।

उहाँले रवि लामिछानेबालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै अब सबै सदस्यहरूको मेहनतले पार्टीलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो।