काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गर्नुभएको छ।
काठमाडौंमा सोमबार आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। उहाँले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले एकताको महाधिवेशनमार्फत नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा एनआरएनएप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले विश्वमाझ नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा गैरआवासीय नेपालीहरूको आचरण, व्यवहार र योगदानमा निर्भर रहने उल्लेख गर्नुभयो। साथै विदेशमा बसोबास गर्ने नेपालीहरूले जहाँ रहे पनि नेपालको गौरव र संस्कृतिको प्रवर्द्धन गरिरहेकोमा गर्व व्यक्त गर्नुभयो।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले जहाँ रहे पनि मातृभूमिप्रति योगदान जारी राख्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री कार्कीले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै गैरआवासीय नेपालीहरूको हक, हित र अधिकारको संरक्षणमा सक्रिय रहन पनि सुझाव दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया