काठमाडौं । संयुक्त अरब इमिरेट्समा इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता कम्तीमा ७ जनाको मृत्यु भएको छ।
युएई रक्षा मन्त्रालयका अनुसार मारिनेमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन्। साथै विभिन्न देशका १४५ जना घाइते भएका छन्।
मन्त्रालयका अनुसार सो अवधिमा युएई सुरक्षा बलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र १ हजार ६२७ वटा ड्रोन ‘इन्टरसेप्ट’ गरेर नष्ट गरेका छन्।
सोमबार मात्रै पनि ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन आक्रमण भएको बताइएको छ। ती आक्रमणले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्याएका छन्।
अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको बताइएको छ।
त्यस्तै दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो। फुजैराहको तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ मानवीय क्षति भने भएको छैन।
संभावित थप आक्रमणलाई ध्यानमा राख्दै युएईले उच्च सतर्कता अपनाएको रक्षा मन्त्रालयले जनाएको छ। –रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया