काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरूप सबै उडानहरू स्थगित गरिएको बताएका छन्।
दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणमा विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो। यसअघि पनि विमानस्थल नजिक ड्रोन नियन्त्रणका प्रयास जारी रहेको अधिकारीहरूले बताएका थिए।
फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा बनेको थियो। BBCका अनुसार सन् २०२५ मा यहाँ झण्डै ९ करोड यात्रुले यात्रा गरेका थिए।
फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन्। यस अवधिमा खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन्।
यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल, आवासीय र कार्यालय भवनहरू समेत पर्न पुगेका छन्।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्समाथि यस्ता आक्रमणको प्रभाव सबैभन्दा बढी परेको छ। यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि प्रभावित भएका छन् र ती सबैले इरानको आलोचना गरेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया