सुर्खेतकी इनिसा विक हत्या प्रकरणः थप अनुसन्धान सीआईबीले गर्ने

121 Shares

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत ले सीआईबीसँग सहयोग मागेपछि प्रहरी निरीक्षकको नेतृत्वमा विज्ञ टोली वीरेन्द्रनगर पुगेको जनाइएको छ। जिल्ला प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सम्पन्न भइसकेको छ र अब केन्द्रीय टोलीले घटनाका थप पाटोबारे अनुसन्धान अघि बढाउनेछ।

प्रहरीले घटनासँग सम्बन्धित पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको छ भने पीडित र अभियुक्त पक्षका मोबाइल फोनसहित विभिन्न विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशाला मा परीक्षणका लागि पठाइएको छ। टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणको प्रतिवेदन आएपछि पोस्टमार्टम प्रतिवेदनसँग मिलाएर घटनाको अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाही ले बताउनुभएको छ।

यसैबीच जिल्लास्तरमा छुट्टै अनुसन्धान टोली गठन गरी काम भइरहेको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको पोलिग्राफ टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। पोलिग्राफी परीक्षणमार्फत बयानको सत्यता जाँच्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। साथै कल डिटेल्स र किशोर–किशोरीबीच भएका विद्युतीय संवादसमेत अनुसन्धानको दायरामा राखिएको छ।

प्रहरीका अनुसार हालसम्म पीडित परिवारले शव बुझिसकेको छैन। परिवारको जाहेरीका आधारमा भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य को टोलीले प्रदेश अस्पताल सुर्खेत मा पुगेर शव परीक्षण गरेको थियो। प्राप्त प्रतिवेदनमा जबरजस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव हुँदा बालिकाको मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको भन्दै पीडित परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ। घटनाकै दिन एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो भने त्यसको भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।