काठमाडौं । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि भएको निर्वाचनको मतगणनाको कार्य सम्पन्न भएको छ।
प्रत्यक्षतर्फ जस्तै समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित पहिलो दल बनेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कूल खसेको १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये ४ लाख ५० हजार ८३ मत बदर भएको छ।
कूल १ करोड ८ लाख ३५ हजार सदर मत गणना हुँदा रास्वपाले ५१ लाख ८३ हजारभन्दा बढी मत प्राप्त गरेको छ। यो कूल सदर मतको करिब ४८ प्रतिशतभन्दा बढी हो।
त्यस्तै नेपाली कांग्रेसले १७ लाख ५९ हजार र नेकपा एमालेले १४ लाख ५५ हजार मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार मत प्राप्त गरेको छ। यी ६ वटा राजनीतिक दलले यस पटक समानुपातिक प्रणालीको थ्रेसहोल्ड पार गरेका छन्। समानुपातिकमा मत प्राप्त गर्ने अन्य ५१ वटा राजनीतिक दलले भने थ्रेसहोल्ड पार गर्न सकेका छैनन्।
दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिक प्रणालीबाट रास्वपाले ५७ जना सांसद पाउने भएको छ। प्रत्यक्षतर्फ जितेको १ सय २५ सिट जोड्दा नयाँ संसदमा रास्वपाका कूल १ सय ८२ सांसद हुने भएका छन्। यो संख्या दुई तिहाइ बहुमतका लागि आवश्यक संख्याभन्दा दुई सिट कम हो।
कांग्रेसले समानुपातिकतर्फ २० र प्रत्यक्षमा १८ गरी कूल ३८ सिट पाएको छ। एमालेले समानुपातिकमा १६ र प्रत्यक्षमा ९ गरी २५ सिट पाएको छ भने नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट पाएको छ।
प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टी र एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट ४/४ जना सांसद पाउने भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया