मध्यपूर्व तनावपछि तेल बजार स्थिर बनाउन ४० करोड ब्यारेल तेल बजारमा ल्याइने

137 Shares

एजेन्सी । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा जारी तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलो मात्रामा तेल बजारमा ल्याउने घोषणा गरेको छ।

आईईएले ४० करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको बीबीसीले जनाएको हो। यो मात्रा विश्वको करिब चार दिनको तेल माग बराबर हो। आईईएका ३२ सदस्य देशले यस कदमका पक्षमा सर्वसम्मतिले मतदान गरेका एजेन्सीले जनाएको छ।

आईईएका अनुसार आपत्कालीन भण्डारबाट तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुसार उपयुक्त समयमा बजारमा उपलब्ध गराइनेछ। एजेन्सीले यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा पनि रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य देशहरूसँग १ खर्ब २० करोड ब्यारेलभन्दा बढी आपत्कालीन तेल भण्डार रहेको जनाएको छ। यसबाहेक उद्योग क्षेत्रसँग सरकारी दायित्वअन्तर्गत थप ६० करोड ब्यारेल तेल भण्डार रहेको बताइएको छ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भई मूल्यमा तीव्र वृद्धि भएको हो।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ। दैनिक रूपमा करिब २ करोड ब्यारेल तेल यही मार्ग हुँदै आपूर्ति हुने जनाइएको छ। यो मार्ग पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ।