काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको कांग्रेसका राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सांसदहरूबीचको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो माग गरेका हुन्।
सांसद बस्नेतले विशेष महाधिवेशनकै कारण पार्टीले प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गर्दै सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले अहिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको पनि बताएका छन्।
उनले कांग्रेसले जनताले दिएको म्यान्डेट स्वीकार गर्दै त्यसअनुसार अघि बढ्नुपर्ने बताए। पार्टीभित्र सहमति, सहकार्य र एकता आवश्यक भए पनि विशेष महाधिवेशनका कारण पार्टीभित्र विभाजन बढेको उनको भनाइ छ।
सांसद बस्नेतले गगन थापा लगायतका केही नेताले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग मिलेमतो गरी पार्टी कब्जा गरेको आरोप समेत लगाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया