समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा फराकिलो अग्रतामा

133 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मत गणना भइसकेको छ। हालसम्मको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम गरेको छ।

रास्वपाले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको करिब ४८ प्रतिशत बराबर हो। नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३ सय ३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४ सय १२ मत प्राप्त गरेको आयोगले जनाएको छ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ४ हजार १ सय ७१ मत पाएको छ। श्रम संस्कृतिले ३ लाख ७८ हजार ५ सय ९४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४ सय ६६ मत हासिल गरेको छ।

हालसम्म यी ६ वटा राजनीतिक दलले समानुपातिकतर्फको थ्रेसहोल्ड पार गरेका छन्। समानुपातिकतर्फ मत प्राप्त गर्ने अन्य ५१ वटा दल रहे पनि उनीहरूले थ्रेसहोल्ड पार गर्ने सम्भावना न्यून देखिएको छ। ती दलहरूले हालसम्म करिब ८ लाख मत प्राप्त गरेका छन्।

 
1-5.webp