काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक मंगलबार राति करिब साढे १ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले जानकारी दिए। उनका अनुसार सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको यूपी २१ पीटी २७९१ नम्बरको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।
कन्टेनरले सुरुमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो। त्यसपछि उक्त बसले क्रमशः बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकल, काठमाडौंबाट रोल्पा जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस र भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २४७५ नम्बरको बसलाई समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कालीकोटको रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्। त्यस्तै बसमा सवार अन्य ७ जना पनि घाइते भएका छन्।
घाइते हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनछहरी गाउँपालिका–५ का चन्द्रसिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल रहेका छन्।
घाइतेहरूलाई उपचारका लागि चितवनको भरतपुर र मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेका छन्। उनको खोजी भइरहेको र दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया