काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था IQAir का अनुसार केही दिनयता उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ। सोमबार काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १८४ पुगेको थियो, जुन स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ। सो दिन काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा पुगेको थियो।
मंगलबार बिहान भने AQI थप बढेर १८८ पुगेको छ। यो स्तरमा काठमाडौँ विश्वका प्रदूषित शहरको सूचीमा चौथो स्थानमा परेको छ। मंगलबार बिहान Lahore (पाकिस्तान) २३० AQI सहित पहिलो, New Delhi (भारत) २०८ AQI सहित दोस्रो र Dhaka (बङ्गलादेश) २०२ AQI सहित तेस्रो स्थानमा रहेका छन्।
विज्ञहरूका अनुसार काठमाडौँमा बढ्दो सवारी साधनको चाप, देशका विभिन्न स्थानमा लागिरहेको डढेलो तथा लामो समयदेखि वर्षा नहुँदा आकाश धुम्म भएर हावा प्रदूषित बन्दै गएको हो।
प्रदूषित हावाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पुर्याउन सक्छ। यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले उपत्यकामा प्रदूषण बढेकाले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौला सम्बन्धी समस्याको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ।
मन्त्रालयले दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर ननिस्कन तथा निस्कनै परे मास्क प्रयोग गर्न सुझाव दिएको छ। विशेषगरी बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन तथा धुलो–धुवाँबाट जोगिने उपाय अपनाउन पनि आग्रह गरिएको छ।
यो हप्ताभर काठमाडौँ उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। मंगलबार पनि उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया