देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

59 Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मंगलबार राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।