धनुषा–१ निर्वाचन विवादमा शुक्रबार सर्वोच्चको प्रारम्भिक दृष्टिकोण आउने

53 Shares

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ को निर्वाचन विवादबारे आगामी शुक्रबार आफ्नो प्रारम्भिक दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।

उम्मेदवारी खारेज भएका धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो।

अदालतले दुवै पक्षको बहस सुनेपछि मात्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नु उपयुक्त हुने भन्दै छलफलका लागि बोलाएको हो।

साथै, सो दिन निर्वाचन आयोगलाई पनि किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णयसँग सम्बन्धित फाइल अदालतमा पेस गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले सोही दिन अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गरी आवश्यक आदेश दिने संकेत गरेको छ।