नयाँ संसद् भवन चैत पहिलो सातासम्म तयार पार्ने तयारी

128 Shares

काठमाडौं । संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक बसाल्ने तयारीमा जुटेको छ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरी का अनुसार गत सोमबार मुख्यसचिव सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए।

अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म संसद् बैठक बस्ने हल उपलब्ध गराउन आग्रह गरिएको गिरीले जानकारी दिए। उनका अनुसार सरकारले चैत १ गतेसम्म प्रतिनिधिसभाको बैठक कक्षसहित ६ वटा भवन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सिंहदरबार परिसरभित्रै अत्याधुनिक सुविधा सम्पन्न नयाँ संसद् भवन निर्माण भइरहेको छ। सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको उक्त भवन नजिकै राजनीतिक दलहरूका संसदीय दलका कार्यालयहरू पनि निर्माण गरिएको छ। संसद् सचिवालय, राष्ट्रिय सभाप्रतिनिधि सभा का लागि आवश्यक संरचनाहरू नजिकै राखिएका छन्।

नयाँ संसद् भवन क्षेत्रमा भीभीआईपीका लागि छुट्टै प्रवेशद्वार र कर्मचारी तथा अन्यका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ। मुख्य गेटबाट प्रवेश गर्दा प्लाजामा पुगिन्छ, जहाँ एकातर्फ संसद् सचिवालय र अर्कोतर्फ प्रतिनिधिसभाको हल रहनेछ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष निर्माण गरिएको छ, जसमा सभाहलमा ४०० र बल्कोनीमा ३०० सिटको व्यवस्था छ। राष्ट्रिय सभाको बल्कोनीमा २९० सिट क्षमता रहेको छ भने ३५० सिट अट्ने संयुक्त लबी पनि निर्माण गरिएको छ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय तथा बैठक कक्ष तयार पारिएको छ। साथै प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा दलका प्रमुख सचेतकहरूका लागि विशेष कक्षको व्यवस्था गरिएको छ। प्रत्येक कार्यकक्षमा २५ सिट क्षमताको बैठक हल बनाइएको छ।

संघीय संसद् परिसरमा पुस्तकालय, क्यान्टिन, बगैँचा तथा सानो चौर पनि रहनेछ। प्रेस तथा छपाइ भवनसहित करिब ७०० सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधार निर्माण गरिएको छ। परिसरभित्र पानीको फोहोरासहित हरियाली खुला क्षेत्रसमेत रहनेछ।