काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले बिहीबार दिउँसो कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले पश्चिम एसियामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै, कतारमा रहेका करिब ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षणमा सहयोग गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ।
उनले नेपालले सबै पक्षलाई संयमित रहन, द्वन्द्व थप नचर्काउन र नागरिक सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखेको बताउनुभयो। साथै, संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको पालना गर्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै, वार्ता र कूटनीतिक माध्यमबाट दीर्घकालीन शान्ति सुनिश्चित हुनेमा जोड दिनुभयो। उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक–सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने अपेक्षा व्यक्त गर्नुभयो।
कतारका प्रधानमन्त्री अल–थानीले नेपाल–कतारबीचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै, कतारमा रहेका नेपाली नागरिकलाई सुरक्षा र संरक्षण प्रदान गरिने स्पष्ट गर्नुभयो। उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै, आफ्नो मुलुकले केवल सार्वभौमता र आत्मरक्षाका लागि प्रयास गरिरहेको बताए।
वार्तापछि दुई पक्षले आपसी मित्रता, ऐक्यबद्धता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया