काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा नपुगी बीचबाटै काठमाडौं फर्किएका छन्।
हेली एभरेस्टको नाइन एन–एओबी उडानमार्फत शाहसहित ५ सदस्यीय टोली काठमाडौंबाट झापा प्रस्थान गरेको थियो। बिहान ९ बजेर १२ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर करिब आधा घण्टापछि झापा नपुगी काठमाडौं नै फर्किएको हो।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टर ओखलढुंगाको आकाशमाथि पुगेपछि काठमाडौं फर्किएको थियो। स्रोतका अनुसार मौसमका कारण भने हेलिकप्टर फर्किएको होइन। ‘काठमाडौं फर्किनुपर्ने खालको खराब मौसम थिएन, अन्य कुनै कारणले फर्किनु भएको होला,’ विमानस्थल स्रोतले जनाएको छ।
यता बालेनको सचिवालयले भने यसलाई सुरक्षासँग जोडेको छ। सुरक्षा निकायबाट झापा जाँदा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले नआइदिन अनुरोध गरिएपछि फर्किएको सचिवालयको दाबी छ।
तर जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले भने सुरक्षाका कारण हेलिकप्टर फर्काउन आफूहरूले कुनै निर्देशन नदिएको बताएकी छन्। उनले झापामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिँदै ‘हामीले नआइदिन भनेका छैनौँ, उहाँहरू आफैंले सुरक्षा चुनौती हुन सक्छ भनेर फर्किनुभएको भए त्यसबारे हामीलाई जानकारी छैन,’ भनी प्रतिक्रिया दिएकी छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया