काठमाडौँ । देशैभरी प्रतिनिधि सभाका सदस्य चयनका लागि मतदान जारी छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ७ बजे सुरु भएको मतदान दुई घण्टाभित्रै देशभर साढे ८ लाख मत खसेको छ।
देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका मतदानस्थलहरूमा ९ बजेसम्म ८ लाख ५० हजार मतदाता मतदान गरिसकेका छन्। मतदान बिहान ७ बजेबाट सुरु भएको थियो र आयोगले बिहीबार साँझ ५ बजेसम्म मतदान चल्ने जानकारी दिएको छ।
निर्वाचन आयोगले मतदातालाई मतदानमा सहभागी हुन आह्वान गर्दै मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रुपमा सम्पन्न गराउन सबै तयारी पूरा गरेको जनाएको छ। देशभर मतदान केन्द्रहरूमा मतदाताको चहलपहल बढेको र कतिपय स्थानमा लामो लाइन देखिएको छ।
निर्वाचनमा प्रत्यक्षतर्फ ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार र समानुपातिकतर्फ ३ हजार १३५ जना उम्मेदवारको बन्दसूची आयोगमा दर्ता भएको छ। देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता मत खसाल्न योग्य रहेका छन्।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन्। मतदान सुरक्षित गर्न पाँच लाख ५६ हजार कर्मचारी र सुरक्षाकर्मी फिल्डमा खटिएका छन्। यो निर्वाचन गत भदौ २३–२४ मा भएको प्रदर्शनपछि विघटन भएको संसदको नयाँ प्रतिनिधि सभा चयनका लागि आयोजना गरिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया