काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले भिडियो सन्देश जारी गर्दै मतदातालाई सुझबुझ र विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।
फेसबुकमार्फत सार्वजनिक भिडियोमा हमालले वर्तमान अवस्थामा राजनीतिक ऐक्यबद्धता र स्थिरता अत्यन्त आवश्यक रहेको बताएका छन् । उनका अनुसार देशको अस्तित्व र सार्वभौमसत्ताको सुरक्षाका लागि पनि राजनीतिक स्थिरता जरुरी छ ।
अमेरिका र इजरायलको नाम नलिई उनले केही दिनअघि शक्तिशाली राष्ट्रले अनुमतिबिनै इरानमा आक्रमण गरेको प्रसंग उल्लेख गर्दै विश्व राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको टिप्पणी गरेका छन् । यस्तो अवस्थामा नेपालजस्तो सानो राष्ट्र अझ संवेदनशील र कमजोर स्थितिमा पुग्न सक्ने उनले तर्क गरे ।
हमालले भदौ २३ र २४ मा भएका घटनाको पृष्ठभूमिमा देश चुनावतर्फ अघि बढिरहेको उल्लेख गर्दै ती दिन भएका कहालीलाग्दा घटनाबारे अझै स्पष्ट जवाफदेहिता नदेखिएको बताए । राष्ट्रिय सम्पदामा भएको क्षतिका विषयमा पनि जनताले स्पष्ट जानकारी नपाएको उनको भनाइ छ ।
उनले यसपटकको निर्वाचन आफ्ना लागि अत्यन्त संवेदनशील र चुनौतीपूर्ण रहेको बताए । मतदातासामु पुराना राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक अपरिपक्वता दुवै पक्ष रहेको उल्लेख गर्दै सही निर्णय लिन कठिनाइ हुने उनको धारणा छ ।
आजको भू–राजनीतिक परिस्थितिमा नेपालमा राजनीतिक स्थिरता र ऐक्यबद्धता नआए देशको स्वतन्त्रता र सार्वभौमसत्तामै असर पर्न सक्ने जोखिम उनले औंल्याए । मतदाताले आफ्नो मतमार्फत कसलाई शक्ति हस्तान्तरण गरिरहेका छन् र ती व्यक्तिले विश्वको अस्थिर राजनीतिक परिवेशमा नेपाललाई कसरी अघि बढाउनेछन् भन्ने विषय गहिराइका साथ विचार गर्नुपर्ने उनले बताए ।
हमालले अहिले राजनीतिमा सहकार्यभन्दा शक्ति संघर्ष बढी हाबी हुँदै गएको उल्लेख गर्दै नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गइरहेको अवस्थामा नेपालजस्तो सानो राष्ट्र अझ संवेदनशील बन्न सक्ने बताएका छन् ।
उनले कुनै दबाबमा नपरी वर्तमान परिस्थिति र संवेदनशीलतालाई ध्यानमा राखेर मतदान गर्न आग्रह गर्दै भने, “हाम्रो अगाडि छनोट सजिलो छैन, चुनौतीपूर्ण छ । त्यसैले सुझबुझ र संयमताका साथ मतदान गर्नुपर्छ ।” साथै नेपालको राजनीतिले देशलाई सही निकास दिन सकोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया