मतदाता परिचयपत्र अनिवार्य, मतदान प्रक्रिया यसरी हुनेछ : निर्वाचन आयोग

44 Shares

काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न जाने मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको जानकारी दिएका हुन्। मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयंसेवकमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

यदि मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो:

  • नेपाली नागरिकता प्रमाणपत्र

  • राहदानी (पासपोर्ट)

  • राष्ट्रिय परिचयपत्र

  • सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)

  • जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)

मध्ये कुनै एक कागजातको सक्कल प्रति देखाएर मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ।

मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ। त्यसपछि प्रत्यक्ष (निर्वाचित उम्मेदवार) तर्फको मतपत्र दिइनेछ। गोप्य मतदान कक्षमा गएर इच्छित उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नु पर्नेछ।

प्रत्यक्षतर्फको मतदान सकेपछि मतदातालाई समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइनेछ। यसमा आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरेर छुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ।

भीडभाड कम गर्न मतदान केन्द्रमा प्रवेश र बाहिर निस्कने छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ। एक गेटबाट प्रवेश गरी मतदान सम्पन्न गरेपछि अर्को गेटबाट बाहिर निस्कन सकिने गरी व्यवस्थापन मिलाइएको छ।

यसरी प्रत्यक्ष र समानुपातिक दुवै मतदान सहज, सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न हुने निर्वाचन आयोगले सुनिश्चित गरेको छ।